Tuesday, September 22, 2015

चुक्यो थ्रीस्टार, झापा पुनः शीर्ष स्थानमा

अपडेटः
काठमाडौं, असोज ४ । रेडबुल राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार क्लब शीर्ष स्थानमा पुग्नबाट चुकेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा दुईपटक अग्रता लिएर पनि २–२ गोलको बराबरीमै चित्त बुझाउन पुगेपछि थ्रीस्टार तेस्रो स्थानमै थन्किएको हो ।

खेलको ३७औं मिनेटमा कप्तान सागर थापाको गोलबाट थ्रीस्टारले प्रारम्भिक अग्रता लिएकामा त्यसको तीन मिनेटमै गोल गर्दै जुमनु राईले पुलिसलाई बराबरीमा ल्याए ।

६९औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै पुनः थ्रीस्टारलाई अग्रता दिलाए । तर, ८३औं मिनेटमा पुलिसले पाएको पेनाल्टीलाई सदुपयोग गर्नेक्रममा योगेश श्रेष्ठले गोल गर्दै पुलिसलाई बराबरीमा ल्याए ।

विष्णु सुनारले भरत शाहलाई फल गर्दै दोहोरो पहेंलो कार्डका साथ बाहिरिनेक्रममा पुलिसले पेनाल्टी पाएको थियो ।

यो बराबरीसँगै लिगमा थ्रीस्टारको ९ खेलबाट १६ अंक जोड्दा समान खेलबाट पुलिसले ९ अंक जोडेको छ ।
यस्तै, सोमबारै झापामा घरेलु टोली झापा–११ ले सुदूरपश्चिम कैलालीसँग १–१ को बराबरी खेल्यो । यो बराबरीले ११ खेलबाट १८ अंकको झापा पुनः शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १४ अंकको सुदूरपश्चिम चौथो स्थानमा उक्लेको छ ।

यस्तै, सोमबारै विराटनगरमा भएको खेलमा घरेलु टोली पूर्वाञ्चल मोरङले जगदम्बा लुम्बिनी रुपेन्देहीसँग १–१ को बराबरीमा समेटियो ।

११ खेलबाट ६ अंक जोडेको मोरङ पुछारमा छ भने समान खेलबाट ८ अंकको लुम्बिनी आठौं स्थानमा छ ।

No comments:

Post a Comment