
|
भू–संरक्षण कार्यालयका अनुसार सदरमुकाम बेनीसमेत जिल्लाका ३८ बस्ती पहिरोको उच्च जोखिममा छन्
भाद्र २०, २०७२- कालीगण्डकी र म्याग्दी नदी दोभानमा अवस्थित म्याग्दीको सदरमुकाम बेनीका बासिन्दा पानी पर्नासाथ त्रसित हुन्छन्। नदीमा आउने बाढीबाट कटानको डर र माथिबाट पहिरो खस्ने त्रासले बेनीवासी जाग्राम बस्छन्।
निरन्तर कटानले बर्सेनि बेनीको आकार खुम्चिँदै गएको छ। चारैतर्फबाट घेरिएका कमजोर पहाडले पहिरोको जोखिम थपेका छन्। भिराला र कमजोर भू–धरातल भएका यी पहाड वर्षामा सधैं नै पहिरोका लागि तयारी अवस्थामा छन्।
बेनीको पश्चिमोत्तर माथि डाँडामा नेपाली सेनाको अथुङ्गे ब्यारेक छ। बेनी आउने भेलबाढीको अर्को मुख्य कारक ब्यारेक पनि हो। झन्डै एक सय रोपनी क्षेत्रफलमा फैलिएको ब्यारेकका खेल मैदान र भवनबाट निक्लने बलेसीको पानीलाई व्यवस्थापन नगरिँदा बाढीका रूपमा सदरमुकाममा बबन्डर मच्चाउने गरेको छ।
‘अथुङ्गे फाँटमा ब्यारेक नहुँदा खेती हुन्थ्यो। पानीढलोबाट आउने पानी खेतमा जम्मा हुन्थ्यो वा खेतीमा सोसिन्थ्यो। तर जस्तापाताका ठूलाठूला भवन र खेल मैदानबाट निक्लेको पानी ब्यारेकले नालीबाट सोझै बस्तीतर्फ सोझायो,’ क्याम्पस चोकका बाढीपहिरो पीडित गोविन्द बानियाँले भने, ‘ब्यारेकबाट निक्लेको पानीको सुरक्षित व्यवस्थापन हुन सके जोखिम कम हुन्थ्यो।’
नदी कटानबाहेक नयाँ समस्या बेनी–अथुङ्गे मोटरबाटो पनि हो। यो बनेपछि पानीढलो नभएर बाढीपहिरोको जोखिम बढाएको छ। सदरमुकाम बेनीको क्याम्पस चोक र मंगलाघाट बजारमा बनेको बेनी–अथुङ्गे–पाखापानी कृषि सडकले ८ वर्षदेखि जोखिम बढाएको छ। कुनै प्राविधिक योजना र भौगर्भिक बनोटलाई पहिचान नगरी डोजर चलाएर खनिएको अव्यवस्थित सडकले पहिरोको जोखिम बढाएको छ। बेस्सरी पानी पर्दा यहाँ भएर आउने भेलले बाढीपहिरोको रूप लिन्छ।
‘भौतिक संरचनाका इन्जिनियरिङ डिजाइन फरक–फरक माटोअनुसार गर्नुपर्ने हो तर पूर्वाधारबाट क्षतिग्रस्त क्षेत्रको ट्रिटमेन्ट पनि भएको छैन,’ जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले भने, ‘हाम्रा सडक संरचना प्रविधि प्राय: काट्ने र पुर्ने (कट एन्ड फिल) खालका छन्। भारी वर्षा हुँदा यसरी थुपारिएको ढुंगामाटोको भार थेग्न नसक्दा पहिरो खस्ने गरेको छ।’
बेनी–अथुङ्गे–पाखापानी सडकको स्तरोन्नति गर्ने बताए पनि जिविसले काम गरेको छैन। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत वर्ष यो आयोजनाले ९ करोड ६२ लाख ४६ हजार बजेटमध्ये ४ करोड ३१ लाख ७३ हजार रुपैयाँ फ्रिज गरायो। खर्च देखाइएको १ करोड ३३ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयको विविध खातामा छुट्टै राखिएको छ।
‘बेनीमा बर्सेनि समस्याका रूपमा देखिएको बाढीपहिरोको समस्याको डिर्लिप आयोजनाले पूरा काम गरेमा धेरै समस्या समाधान हुन्छ। बेनीमा झर्ने अथुङ्गे पानीढलोको भेलपानी तर्काउने र व्यवस्थित नाली बनाउने योजना छ,’ स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले भने, ‘दुर्भाग्य यो प्रोजेक्टले सहज काम गर्नै सकेन। बेनीबासी जोखिममा रहनु भएको छ।’
सडकबाट एकोहोरिएर भेलबाढी अथुङ्गेको आँप रूखबाट तल बालुवाको पहाडमा खस्छ। अनि तल बेनीबजारको घर तथा व्यापारिक पसलहरू पुर्ने गरेको छ। यो केही वर्षदेखि निरन्तर भइरहेको छ। बलौटे माटो र कमजोर भूबनावट रहेको ठाडो भिरालो पाखोमा पहिरो तथा बाढी रोकथाम नभए फेदीमा गुचुमुच्चु बेनीबजारमा कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने चेतावनी जिल्ला भूसंरक्षण कार्यालयले दिएको छ।
चालु वर्ष भूकम्प र त्यसयताका परकम्पले भीर र पहाडहरू सतहमै देखिनेगरी धेरै चिरा पर्ने, क्षयीकरण हुने भएर पहिरोका लागि तयारी अवस्थामा छन्। भू–संरक्षण कार्यालयका अनुसार सदरमुकाम बेनीसमेत जिल्लाका ३८ वटा बस्ती पहिरोको उच्च जोखिममा छन्। पहिरोको जोखिममा रहेका ओखरबोट, मुना र अन्य गरी कम्तीमा १ सय ५० परिवार सुरक्षित बन्न थातथलो छोडेर अन्यत्रै गोठ बनाएर बसेका छन्।
कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा यसअघि पनि पटक–पटक पहिरो झर्ने र थुनिने गरेका छन्। कालीगण्डकी २०१४ सालमा ठूलो पहिरोले थुनिएको थियो। २०५५ मा अन्धगल्छीको तातोपानीमा गोगनपानी भीर खस्दा कालीगण्डकी १० घण्टा थुनिएको थियो।
गत जेठ १० मा राम्चे गाविसको काफलडाँडा मुनिको महभीर खस्दा १६ घण्टा कालीगण्डकी थुनिएको थियो। २०४४ सालमा हिमालपारिको मुस्ताङको हिमतालको बाढीले कालीगण्डकी तटीय क्षेत्रमा व्यापक धनजनको क्षति पुर्याएको थियो।
गत जेठ १० मा राम्चे गाविसको काफलडाँडा मुनिको महभीर खस्दा १६ घण्टा कालीगण्डकी थुनिएको थियो। २०४४ सालमा हिमालपारिको मुस्ताङको हिमतालको बाढीले कालीगण्डकी तटीय क्षेत्रमा व्यापक धनजनको क्षति पुर्याएको थियो।

|
Post a Comment