
|
भदौ महिनाको सुरुवातमै नेपाल सरकारको राष्ट्रिय अनुसन्धान बिभागका अपरेशन एआइजी देवराज भट्टले एउटा सनसनीपूर्ण लिखित रिपोेर्ट सरकारका तीनवटै उच्च सुरक्षा अधिकारीहरु सम्मिलित एक बैठकमा प्रस्तुत गरेका थिए । जुन बैठकमा एआइजी भट्टले आफ्नो रिपोर्टबारे ब्रिफिङ गरे त्यो बैठकमा सहभागी हुने अधिकारीहरु सायद अहिले पछुताइरहेको हुनुपर्छ । नेपालको तराईमा हुनसक्ने सम्भावित घटनाहरुका बारेमा एआइजी भट्टले प्राप्त सूचनाका आधारमा तयार गरिएको विश्लेषण प्रस्तुत गरिरहँदा गृहसचिवदेखि नेपाली सेना र नेपाल प्रहरीकै केही बरिष्ठ अधिकारीहरुले त्यो विश्लेषण अलि अति नै भएको कमेन्ट बैठकमै गरेका थिए । तर, त्यही कम आँकलनका कारण सुरक्षा निकायले एक बरिष्ठ प्रहरी अधिकारीसहित दुई इन्स्पेक्टर, दुई हवल्दार र दुई सिपाहीलाई गुमाउनु पर्यो- कैलालीको टिकापुरमा ।
भदौ ७ गते कैलालीको टिकापुरमा घटेको त्यो बिभत्स घटनाले अहिले देश पूरै मर्माहत छ । प्रहरीका बरिष्ठ अधिकारी र एक बालकसहित ८ जनाको ज्यान जाने गरी भएको उक्त घटनाले नेपालको आगामी राजनीतिक परिदृष्यलाई उजागर गरेको छ । राजनीतिक सत्ता र शक्तिको केन्द्रमा रहेका केही सीमित मान्छेहरुको व्यक्तिगत स्वार्थ र हठको परिणाम यो घटना हो भन्ने कुरामा कसैको दुई मत छैन । यदि उनीहरुले आफ्नो स्वार्थ र हठमा अझै मुलुकलाई तान्न खोजिरहे यो भन्दा भयानक परिदृष्यहरु आगामी दिनमा देखिने निश्चित छ ।
ठूलो दलबलका माझमा रहेको भए पनि नेपाल प्रहरीका बरिष्ठ अधिकारीहरु कसरी जिउँदै आगोमा जलाइए भन्ने प्रश्न अहिले पनि सबैको मनमा छ । आखिर यो घटनामा कसको हात छ भन्ने पनि अर्कोे खोजिको विषय छ । देशमा शान्तिपूर्ण राजनीतिक कोर्स अगाडि बढिरहेका बेला त्यही शान्तिपूर्ण प्रदर्शनकैबीच एकाएक यस्तो बिभत्स घटना कसरी घट्यो भन्ने कुराको चासाे सर्वत्र छ ।
टिकापुर घटनाका बारेमा सरकारले एक छानविन टोली गठन गरेर अध्ययन गरिरहेको छ । राष्ट्रिय अनुसन्धान बिभागका पूर्व प्रमुख देविराम शर्माको नेतृत्वमा नेपाल प्रहरीका एआइजी प्रतापिसिंह थापा र सशस्त्र प्रहरी बलका एआइजी जीवन थापा रहेको छानविन समितिले उक्त घटनाका गहिरो अनुसन्धान गरिरहेको छ । यो समितिले अध्ययनका क्रममा भेटेका तथ्य र प्रमाणहरु जस्ताको तस्तै बाहिर ल्याउन सक्छ सक्दैन भन्ने प्रश्न पनि सँगसँगै आएको छ । यसअघिका यस्ता थुप्रै घटनाका सन्दर्भमा गठित अध्ययन कार्यदल वा छानविन आयोगहरुका प्रतिवेदन झै यो प्रतिवेदन पनि सार्वजनिक नहुँदै हराउने अनुमान भने धेरैले गरेका छन् ।
कैलाली घटनाका बारेमा जानकारी गराउँदै नेपाल सरकारका गृहमन्त्री बामदेव गौतमले यसमा भारतीय सम्लग्नताको संकेत गरेका थिए । त्यसपछि उनले यो घटनामा माओवादी पार्टीको पनि हात रहेको संकेत गरे । जसले उनको त्यो दावीलाई फिक्का सावित गरिदियो । विना अध्ययन, विना तथ्य प्रमाण गृहमन्त्रीजस्तो व्यक्तिले संसदमा गरेको यो टिप्पणी आलोचनाको विषय पनि बन्यो ।
यथार्थमा टिकापुर घटनाका एक कारक गृहमन्त्री बामदेव गौतम नै हुन । आफ्नो व्यक्तिगत स्वार्थ र इगो साध्न गौतमले प्रहरीका दुई निकायका बीचमा जुन द्वन्द्व सिर्जना गरिदिए, त्यसको प्रतिविम्व टिकापुरमा देखिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका बीचमा गृहमन्त्री गौतमले पैदा गरेको अन्तरविरोधको प्रतिविम्व कही न कही देखिने निश्चित थियो । सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा हुने यस खालका अन्तरविरोधको परिणाम कति भयानक हुँदो रहेछ भन्ने कुरा टिकापुरमा देखियो । तर, त्यसको प्रतिविम्व आगामी दिनमा अझ भयानक रुपमा देखिन सक्छ ।
कैलालीको टिकापुरबाट केही किलोमिटर मात्र पर गयो भने भारतको टिकौली भेटिन्छ । यो क्षेत्र तस्करीका लागि पनि चर्चित छ । टिकापुर घटनाका दिन पाँच वटा बोलेरोमा पेशेबर गुण्डाहरुको एउटा समूह त्यही बाटाे हुँदै नेपाल छिरेको थियो । भारतकाे टिकौलीबाट अाएका पाँच वटा बोलेरो जीप सीमामा रहेको खकुरौला पुल हुँदै टिकापुर छिरेका थिए । यता टिकापुरका वरिपरिका क्षेत्रबाट ठूलो संख्यामा मान्छेहरु प्रदर्शनका लागि आउँदै थियो । सोही गिरोहले मान्छेहरुको समूहभित्र छिरेर यस्तो विभत्स घटना घटाउन पहल लिएको अनुमान अहिले गरिएको छ । यी मान्छेहरु ल्याउन कैलालीका थारु नेताहरुकाे कुनै हात थिएन । पूर्वी तराईबाट पश्चिममा आन्दोलन उठान गर्न गएका मधेशवादी दलका उच्च तहकै नेताहरुले यसको संयोजन गरेको स्रोतको दावी छ ।
स्रोतको अर्काे दावी छ कि टिकापुर घटनाअघि कैलालीमा केही नेताहरुमाथि आक्रमण गर्ने तयारी थियो । तर, त्यसले अनावश्यक रुपमा अखण्ड र थरुहट पक्षधरबीचको द्वन्द्व मात्र बढ्ने देखिएपछि त्यो योजना रोकियाे । राज्यले सुन्नेगरी कुनै न कुनै घटना घटाउने योजनामा रहेको त्यो तहले नै पछि सरकारकै निकायमाथि प्रहार गर्ने निचोड निकालेर टिकापुरमा प्रहरीमाथि आक्रमण गराएको हाे । त्यसका पनि केही श्रृङ्खला थिए, पहिलो सरकारी कार्यालयहरुका वोर्ड फेर्ने, ती कार्यालयहरु तोडफोड गर्ने, आगजनी गर्ने र त्यो क्रममा प्रतिवादमा आउने प्रहरीमाथि आक्रमण गर्ने । सोही योजना मुताविक नै अघि बढ्दा स्थानीय नेताहरुले नसोचेको घटना टिकापुरमा भएको देखिन्छ । त्यसमा मिसाएका अपराधिक समूहले गरेको वितण्डा नै उनीहरुका लागि अभिसापजस्तो बनेको स्रोतको दावी छ ।
टिकापुर घटनामा सशस्त्रका प्रमुख वन्तको प्रत्यक्ष कमाण्ड
टिकापुर घटनामा आन्दोलनकारीले जस्तोसुकै योजना बुने पनि यदि सुरक्षा निकायका बीच उचित सन्तुलन मिलेको भए त्यति ठूलो क्षति हुने थिएन । प्रहरीका दुई निकायबीचमा केन्द्रदेखि नै देखिएको अन्तरविरोधको परिणाम यो घटनामा नुहने क्षति भएको हो । घटनामा सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्तको प्रत्यक्ष सम्लग्नता पनि भेटिएको छ ।
कैलालीमा धेरै पहिलेदेखि अखण्ड सुदुरपश्चिम र कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेश बनाउनुपर्छ भन्ने आवाज चर्को रुपमा उठ्दै आएका थिए । छुट्टाछुट्टै बन्दका कार्यक्रमदेखि शक्ति प्रदर्शनसम्म हुने गरेका थिए । ती प्रदर्शनहरु कतै न कतै भड्किने सम्भावना बढ्दै गएकाे थियाे । एकले अर्कोपक्षमाथि आक्रमण गर्ने क्रम पनि बढिरहेको थियो । यो सम्भावनाबाट दुबै तर्फका नेताहरु झस्किएका पनि थिए । सोही कारण दुबै तर्फका नेताहरु स्थानीय प्रशासनको रोहबरमा बसेर केही सहमति पनि गर्दै आएका थिए । तर, ती सहमति उल्लंघन हुँदै आएका थिए ।
यही सम्भावनालाई मध्यनजर गर्दै सायद टिकापुर घटनाका दिन प्रहरीको उच्च तहकै नेतृत्व फिल्डमै गएको हुनुपर्छ । यद्यपी सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने आफै फिल्डमा जानु हुँदैनथ्यो भन्ने भनाई पनि आएका छन् । तर, कैलालीमा चल्दै आएका आन्दोलनको पृष्ठभूमी केलाउँदा कही न कही अप्रिय घटना हुनसक्ने देखिन्थ्यो र त्यसलाई रोक्न आफै उपस्थित हुनुपर्ने ठानेर उनी गएको हुनुपर्छ । तर, त्यसरी जाँदा सुरक्षा फौज परिचालनको योजना भने निकै फितलो देखिन्छ । उनले प्रहरीमाथि हुनसक्ने आक्रमणको पनि कम आँकलन गरेको देखिन्छ । त्यो भन्दा पनि ठूलो कुरा सशस्त्र प्रहरीको भर पर्नु नै एसएसपी न्यौपानेको ठूलो भूल भयाे । उनले अाफ्नाे अन्तिम अवस्था हुँदा पनि सशस्त्रसँग गुहार मागेका थिए । तर, उनकाे कुरा सशस्त्रकाे फिल्ड कमाण्ड गरिरहेका एसपी लक्ष्मण सिंहले सुनेनन् ।
घटनामा मुछिएका सशस्त्र प्रहरीका डिआइजी षडानन्द चौधरी घटनापछि अालाेचनाका निशाना बने । तर, यथार्थमा उनी बलिको बोको मात्र भएको देखिन्छ । त्यो दिन सशस्त्रका एसपी लक्ष्मणबहादुर सिंह फिल्डमा फौज लिएर गएका थिए । डिआइजी चौधरीको मातहतमा रहेका एसपी लक्ष्मण सिंह भने आफूभन्दा माथिल्लो कमाण्डबाट होइन, सिधै केन्द्रबाट निर्देशित थिए । घटनाले चरम रुप लिएर जब एसएसपी लक्ष्मण न्यौपानेले सशस्त्रका एसपी सिंहलाई सहयोग मागे त्यो बेला उनले त्यो कुरा मानेनन् । आफ्नै सहकर्मी जिउँदै जलाइदा समेत केही नगरेको देखेर एसएसपी न्यौपानेले सशस्त्रका डिआइजी चौधरीलाई फिल्डबाटै फोन पनि गरेका थिए । डिआइजी चौधरीले एसपी लक्ष्मण सिंहलाई गोली चलाउने आदेश पटक पटक दिए । तर, एसपी सिंह भने त्यो सबै कुरा आफ्ना चिफ कोषराज वन्तलाई रिपोर्ट गर्थे । यता सशस्त्रका प्रमुख वन्त भने कुनै हालतमा पनि गोली नचलाउनु भन्ने आदेश दिइरहेका थिए ।
घटनाको दिनमा सशस्त्रका डिआइजी षडानन्द चौधरी र कैलालीका सिडिओ राजकुमार श्रेष्ट दुबै जना सँगै सदरमुकाम धनगढीस्थित जिल्ला प्रशासन कार्यालयमा थिए । सिडिओ श्रेष्ठकै सामु डिआइजी चौधरीले एसपी सिंहलाई आफ्नो सेटबाट गोली चलाएर स्थिति नियन्त्रणमा लिन आदेश दिएका थिए । तर, एसपी सिंहले ‘गोली चलाउने आदेश तपाईले दिएर मात्र पुग्दैन, सिडिओले दिनुपर्छ’ भने । त्यसपछि डिआइजी चौधरीले आफ्नो सेट सिडिओ श्रेष्ठलाई दिएर आदेश गर्न लगाए । तर, पनि एसपी सिंहले केही नगरेको स्रोतको दावी छ । डिआजी र सिडिओको आदेशपछि एसपी सिंह सिधै केन्द्रमा आफ्ना प्रमुख कोषराज वन्तलाई फोन गरेर रिपोर्ट गरिहन्थे । तर, केन्द्रबाट वन्तले भने अझै गोली नचलाउनु भनिरहेका थिए । दुई संगठनको ‘दुश्मनीपूर्ण द्वन्द्व’ भएको जस्तो दृष्य टिकापुर घटनामा देखियो ।

|
Post a Comment