
|
ताजा खबर, काठमाण्डौं । लगातारको सफलतापछि निर्माता विकास आचार्यले ‘नाई नभन्नु ल’ को चौथो सिरिज ‘नाई नभन्नु ल ४’ को निर्माण पनि शुरु गरेका छन् । कृष्णाष्टमीको अवसर पारेर उनले सांगीतिक प्रेमकथामा आधारित ‘नाईं नभन्नु ल ४’ को मैतिदेवीस्थित मन्दिरमा मुहुर्त गरे ।
त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको यो फिल्मलाई बिकास आफैले निर्देशन गर्ने छन् । हरेक सिरिजमा नयाँँ अनुहारलाई मौका दिने गरेका निर्देशक आचार्यले यसपटक पल शाह, बर्षा राउत र आँचल शर्मालाई मुख्य भुमिकामा भित्राएका छन् ।
एउटै शीर्षक भिन्न स्वादको प्रेमकथा पस्कदै आएको दाबी गर्ने आचार्यले भने, ’मेरा सबै फिल्मले प्रेमको परिभाषालाई विभिन्न कोणबाट प्रस्तुत गर्ने प्रयास गरेको छ । यसपटक पनि प्रेमकथालाई भिन्न रूपले प्रस्तुत गर्दैछु ।’ सामिप्यराज तिमिल्सिना र निर्देशक आचार्यले मिलेर फिल्मको पटकथा तथा संवाद तयार परेका छन् ।
सोमबारदेखि सुटिङ शुरू हुने भनिएको यो फिल्ममा पल, बर्षा र आँचलसहित अनुभव रेग्मी, सरोज खनाल, प्रियंका कार्की, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)लगायतले अभिनय गर्नेछन् । चितवन र काठमाडौंमा सुटिङ हुने यो फिल्मलाई हरिबोल भण्डारी र दिनेश पोखरेलले निर्माण गर्नेछन् ।
फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन र कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । यो फिल्म आउँदो चैत्र २६ गते रिलिज हुने निर्देशक आचार्यले बताए ।

|
Post a Comment