Headlines News :
Home » » एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु

एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु

Written By kantipur on Saturday, September 19, 2015 | 12:14 PM

एउटी किशोरी भन्छिन्- म पोर्नस्टार बन्न चाहन्छु

आश्विन १, २०७२- 
म पोर्नस्टार बन्छु ।’ काठमाडौंबाट ६ सय ८० किलोमिटरको दूरीमा अवस्थित कञ्चनपुर, भासी निवासी एउटी किशोरीको यही स्वीकारोक्तिले अहिले हंगामा मच्चाएको छ । उनको नाम हो– अर्चना पनेरु । उमेर– १७ वर्ष ।
अर्चना भन्छिन्– ‘मलाई नेकेड फोटोसुट गर्न मन लाग्छ । किनभने म भविष्यमा पोर्नस्टार बन्नेछु, सनी लियोनी जस्तै ।’ उनले भनिनन् मात्र, सेमी न्युड फोटोसुटसमेत गराइन् र फेसबुकमा अपलोड गरिन् । स्तन र यौनाङ्ग कृत्रिम फूलको थुङ्गाले छोपिएका, स्तनलाई दुवै हातले छोपेका, पेन्टी र ब्रा मात्र लगाएका ती तस्बिर क्षणभरमै इन्टरनेटमा भाइरल भए । सुनियोजित ढंगले न्युड फोटोसुट सार्वजनिक गरिएको यो दुर्लभ घटना हो, नेपाली परिवेशमा । यसलाई रिभुलेसन मान्ने कि, उच्छृंखलता ? समाज रनभुल्लमा छ ।
अनौठो त के भने, उक्त फोटोसुट आमा सुनिताले गरेकी थिइन् । नेपाली समाजमा सुनिता यस्ती आमा हुन्, जसले छोरीलाई ‘पोर्नस्टार बनाउने’ सपना बुनेकी छिन् । साप्ताहिकसँग टेलिफोन कुराकानीमा सुनिताले भनिन्– ‘हरेक छोराछोरीको इच्छा पूरा गरिदिनु उनीहरूका आमाबुबाको कर्तव्य हो । मेरी छोरी पोर्नस्टार बन्न चाहन्छे । म उनको यो इच्छा पूरा गरेरै छाड्छु ।’ सुनिताकै डिजाइनमा छोरी अर्चनाको न्युड फोटोसुट भएको थियो, आफ्नै घरमा । फोटोग्राफीमा रुचि भएकी सुनिताले सनी लियोनीको तस्बिर हेर्दै फोटो खिचेको बताइन् । उनलाई लाग्छ– यो एक किसिमको ‘आर्ट एन्ड इन्टरटेनमेन्ट’ नै हो, जसको विश्वमा सदियौंदेखि अभ्यास हुदैं आएको छ । नेपाली परिवेशमा नौलो लागे पनि पश्चिमी समाजले यसलाई सिर्जनाकै रूपमा लिएको छ ।
एउटी किशोरीको नग्न तस्बिरसँगै ‘पोर्नस्टार बन्ने’ उद्घोषले एउटा नयाँ बहस पनि सिर्जना गरेको छ । यो विषयलाई नेपालको कानुनले समेत सम्बोधन नगरेको जनाउँदै जानकारहरूले यो फरक र अप्ठ्यारो मुद्दा भएको बताएका छन् । ‘यो एकदमै नयाँ इस्यु हो,’ अधिवक्ता ज्योति पौडेल भन्छिन्– ‘यो विषयमा कानुन पनि स्पष्ट छैन ।’


कुनै पनि व्यक्तिले आफ्नो इच्छाबमोजिमको करियर रोज्न पाउनु उसको ‘वैयक्तिक स्वतन्त्रता’ भएको ठम्याइ छ– महिला अधिकारकर्मी मेनुका थापाको । थापा भन्छिन्– ‘ जोकसैलाई आफ्नो इच्छापूर्ति गर्न पाउने अधिकार हुन्छ ।’ यद्यपि समाजसँग जोडिएका विषयमा भने व्यक्तिको इच्छामात्र सर्वोपरि नहुने थापाको बुझाइ छ । ‘यस्तो कुराको निर्णय समाजले गर्ने हो,’ थापा भन्छिन्– ‘किनभने यसवाट प्रत्यक्ष रूपमा समाज नै प्रभावित हुन्छ ।’
अर्चनाविरुद्ध सामाजिक विचलन ल्याएको आरोप समेत लागेको छ । ‘उनको गतिविधिले आफ्ना छोराछोरीमा नकारात्मक असर पर्ने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्,’ कन्चनपुर जिल्ला प्रहरी, महिला सेलकी प्रहरी नायव नीरिक्षक डम्मरकला कार्की भन्छिन्– ‘यो समाज र कानुनविरुद्धको काम भयो ।’
अर्चनाले आफ्नो फेसबुकमा तस्बिर सार्वजनिक गरेलगत्तै उनलाई विद्यालयवाट निष्कासन गरियो । उनी कन्चनपुरकै लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत थिइन् । अर्कातिर ‘नग्न तस्बिरका कारण समाजमा असर पुगेको’ भन्दै कन्चनपुर प्रहरीमा परेको उजुरी दर्ता भयो । त्यसकै आधारमा कन्चनपुर जिल्ला प्रहरी कार्यालय, महिला सेलले आमा सुनिता तथा छोरी अर्चनालाई पक्राउ गरी सोधपुछ गर्‍यो । प्रहरीले यस्तो काम ‘साइवर क्राइम’ भएको जनाउँदै अबदेखि गल्ती नदोहोर्‍याउन खबरदारी गर्‍यो । यद्यपि आमा सुनिताले आफ्नो ढिपी छाडिनन् । उनले जस्तोसुकै बाधा, अड्चन सहेर भए पनि ‘छोरीलाई पोर्नस्टार’ बनाउने बताइरहिन् ।
पोर्नस्टार बन्ने अर्चनाको आफ्नै रहर हो कि आमाको ? मनोविज्ञ करुणा कुँवर भन्छिन्– ‘कतिपय अवस्थामा आमाबुबाले आफूले पूरा गर्न नपाएको इच्छा छोराछोरीले पूरा गरेको हेर्न चाहन्छन् ।’ यही मनोविज्ञानका कारण सुनितामा छोरीलाई पोर्नस्टार बनाउने रहर पलाएको हुनसक्छ । यदि यो सत्य हो भने त्यसले राम्रो नतिजा नदिने मनोविज्ञ कुँवरको भनाइ छ । आफ्नी आमामा पनि सानैदेखि कलाकार बने रुचि भएको अर्चनाले बताएकी छिन् ।
यता सुनिताचाहिँ कसैको इच्छामाथि समाजले तगारो लगाउन नहुने तर्क गर्छिन् । हरेकले आफ्नो इच्छाअनुसारको करियर रोज्न पाउनु उसको नैसर्गिक अधिकार भएको सुनिताको धारणा छ । ‘हामीले कुनै गलत काम गरेका छैनौं, कसैको हत्या गरेका छैनौं,’ सुनिता भन्छिन्– ‘यो कुनै अपराध होइन । अर्चना नाबालिक भएकाले उनले गर्ने कुनै पनि कुकृत्यको जवाफदेही उनका अभिभावकहरू हुनुपर्ने विज्ञहरूको भनाइ छ ।
अर्चनाले पोर्नस्टार बन्ने आफ्नै रुचि भएको बताएकी छिन् । ‘यो मेरो पहिलेदेखिकै लक्ष्य हो,’ अर्चनाले भनिन्– ‘ममीले मलाई सपोर्ट गर्नुभएको हो ।’ सनी लियोनीलाई बिग बोसमा ल्याइएपछि अर्चनामा पोर्नस्टार बन्ने भूत सवार भएको हो । ‘सनी लियोनी मेरी रोल मोडल हुन्’ उनी खुल्लमखुला भन्छिन्– ‘सनीको जस्तै नेकेड फोटोसुट, भिडियो आदि खिचाउने लक्ष्य छ ।’
अर्चनाका अनुसार उनलाई पोर्न मुभीका लागि थुप्रै अफरसमेत आएका छन् । यद्यपि आफू जुनसुकै प्रोजेक्टमा काम गर्न तयार नभएको उनले बताइन् । ‘आँखा चिम्लेर त्यस्तो मुभी खेल्दिनँ,’ अर्चना भन्छिन्– ‘त्यो प्रोजेक्ट, निर्माताहरूको हिस्ट्री, डाइरेक्टर, कलाकार आदि चित्त बुझेपछि मात्र काम गर्छु ।’ यद्यपि उनले नेपाली टिमले नै बनाउन लागेको एउटा मुभीमा काम गर्ने कुरा भैरहेको बताइन् । अर्चनाले त्यसको नाम समेत भनिन्– ‘हनिमुन नाइट ।’
मुम्बईमा जन्मी त्यहीं हुर्किएकी अर्चनाले सानैदेखि कलाकार बन्न चाहेको बताएकी छिन् । सात वर्षअघि मात्र उनको परिवार नेपाल फर्किएको हो । अर्चनाले आफ्ना बुबा अझै मुम्बईकै एक कम्पनीमा कार्यरत रहेको बताइन् । ‘तर, पोर्नस्टार बन्ने कुरामा उहाँ त्यति पोजेटिभ हुनुहुन्न,’ अर्चना भन्छिन् ।
अर्चना नृत्यमा पोख्त भएकी आमा सुनिताले बताइन् । ‘धेरै राम्रो डान्स गर्छे,’ सुनिता भन्छिन्– ‘स्कुलमा छँदा अर्चना नृत्यमा भाग लिन्थि भने उसले एउटा म्युजिक भिडियोमा समेत अभिनय गरेकी छे ।
‘उ स्कुलको प्रोगाममा पनि डान्स गर्थी,’ सुनिता भन्छिन्– ‘त्यहाँ धेरैले उसको ईष्र्या गरे । पिन्सिपलले त नाइन क्लासदेखि नै पढ्न नआऊ भने ।’ अर्चनाले पढ्न चाहे पनि विद्यालयले उनीमाथि पक्षपात गरेको सुनिताको जिकिर छ । अर्चनाले यसपालि एसएलसी दिएर फेसन डिजाइनिङ र एयर होस्टेजको कोर्स गर्ने योजना बनाएकी थिइन् । त्यसपछि मात्र उनलाई पोर्नस्टार बनाउने लक्ष्य रहेको सुनिताले जानकारी दिइन् ।
स्थानीय स्तरमा हुने एक सौन्दर्य प्रतियोगितामा भाग लिएर सेकेन्ड रनरअपको उपाधि जितेकी अर्चनाको क्राउन सहितको तस्बिर पनि फेसबुकमा देख्न पाइन्छ । ‘प्रतियोगितामा भाग लिन आउँदा सामान्य खालकै थिइन्,’ एक सहपाठीले भनिन्– ‘त्यस्तो काम गर्छिन् जस्तो लागेको थिएन ।’ उनले आफ्नो नाम उल्लेख गर्न चाहिनन् ।
-----------------------------------------------------------------------------------
ममीले यसलाई आर्टका रूपमा लिनुभएको छ - अर्चना पनेरु
किन न्युड तस्बिर खिचाएकी ?
त्यो मेरो रुचिको कुरा हो । म न्युड फोटोसुट गर्न मन पराउँछु । किनभने म पोर्नस्टार बन्न चाहन्छु, सन्नी लियोनीजस्तै ।
किन पोर्न स्टार बन्ने, यो त अनौठो रुचि भएन ?
यो अनौठो कुरा होइन, अहिले संसारमा पोर्न इन्डस्ट्री नै सबैभन्दा राम्रोसँग फस्टाएको छ । यो पनि एक किसिमको आर्ट अनि इन्टरटेनमेन्ट हो । म यसैमा आफ्नो करियर बनाउन चाहन्छु, स्टार बन्न चाहन्छु ।
यस्तो रहर कसरी जाग्यो ?
म मुम्बईमा जन्मिएँ ।त्यहीको प्रभावले हुन सक्छ ममा सानैदेखि नायिका बन्ने इच्छा थियो । पछि जब बिग बोसमा सनी लियोनीलाई इन्ट्री गराइयो, त्यसदिनदेखि मलाई पनि सनी लियोनीजस्तै पोर्नस्टार बन्न मन लाग्यो । किनभने कलाकारमध्ये पनि सबैभन्दा बढी च्यालेन्ज मोल्नुपर्ने क्षेत्र पोर्न नै हो । पोर्नस्टार बन्न सजिलो छैन, एकदमै स्ट्रगल गर्नुपर्छ । मलाई यस्तै च्यालेन्जिङ सेक्टर मनपर्ने भएकाले पोर्नस्टार बन्न खोजेकी हुँ ।
तर, परिवारले यस्तो काम गर्न स्वीकृति दिन्छ ?
अवश्य, मलाई मेरो फेमिलीबाट एकदमै सपोर्ट छ, खासगरी ममीबाट । उहाँको सपना पनि यही छ कि म पोर्नस्टार बनूँ ।
अरू आमाबुबाले त छोराछोरीलाई पोर्न मुभी हेर्नसमेत दिँदैनन्, बिग्रन्छन् भनेर । ममीले कसरी आफ्नी छोरीलाई पोर्नस्टार बनाउने सोच बनाइन् होला ?
उहाँले धेरै सोचविचार गरेर यो निर्णय लिनुभएको हो । यसलाई समाजले कसरी हेर्छ भन्ने भन्दा पनि हामी आफूले कसरी हेर्छौं भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । हाम्रो नजरमा यो कुनै नाजायज वा अश्लील काम होइन । मेरी ममीले यसलाई आर्टका रूपमा लिनुभएको छ ।
फोटोसुट गर्ने सोच कसरी आयो ?
यो मेरी ममीको कन्सेप्ट हो । ममीलाई फोटोग्राफीमा पनि रुचि छ । त्यसैले ममीकै कन्सेप्टअनुसार घरभित्रै फोटोसुट गर्‍यौं, झन्डै एक महिनाअघि ।
कसरी भयो फोटोसेसन ?
सुरुमा हामीले सनी लियोनीको फोटो हेर्‍यौं अनि त्यसैबाट आइडिया लिएर फोटोसुट गराएका हौं । यो फोटोसुट गर्न हामीलाई तीन दिनजति लाग्यो । यद्यपि मैले पोर्नमुभी खेलेकी छैन । धेरैले अफर गरेका छन् । त्यसका लागि म निकै सोचविचार गरेर मात्र निर्णय दिन्छु । पोर्न मुभी बनाउने प्रोजेक्ट, निर्माताहरूको इतिहास, डाइरेक्टर तथा अरू कलाकार चित्त बुझे मात्र काम गर्छु ।
यस्तो काम गर्दा समाजले के भन्छ भन्ने डर लाग्दैन ?
समाजले के भन्छ, त्यो मेरो सरोकारको विषय होइन । समाजले त जे गरे पनि विरोध नै गर्छ नि । आफ्नो करियरका लागि निर्णय लिने भनेको म आफूले हो । मेरो मनले मलाई पोर्नस्टार नै बन् भन्छ । त्यसैले जसरी पनि म यो लक्ष्यमा पुगेरै छाड्छु । अरूले कसरी हेर्छन्, के भन्छन्, के गर्छन् भन्ने कुराको कुनै अर्थ छैन ।
तिमीलाई प्रहरीले पक्राउ पनि गरेको थियो नि ?
हो, सोधपुछका लागि लगेका थिए । प्रहरीले ‘यस्तो फोटो किन फेसबुकमा अपलोड गरेको, नेपाली सोसाइटीमा यो राम्रो मानिँदैन’ भनेर सोधे । मैले यो आफ्नो भित्री इच्छा भएको कुरा बताए ।
सोसल साइटमा पनि धेरैले गाली गरेका छन् नि ?
त्यसमा मेरो कुनै गुनासो छैन । उनीहरूले जे जानेका छन्, त्यही भन्ने हो । यदि उनीहरूलाई मन नपर्ने भए त्यो हेर्नैपर्छ भन्ने बाध्यता थिएन ।
सार्वजनिक ठाउँमा हिँड्दा मानिसहरू के भन्छन् ?
मलाई हेर्न एकैछिनमा निकै ठूलो भीड लाग्छ । बाटोमा सबैले अनौठो मानेर हेर्छन् ।
-----------------------------------------------------------------
मैले कुनै अपराध गरेकी होइन- सुनिता पनेरु, अर्चनाकी आमा
तपाईंले छोरीको न्युड फोटोसुट गरिदिनुभएको कुरा सुनिन्छ, सत्य के हो ?
सत्य त्यही हो, जे तपाईंले सुन्नुभएको छ । मेरी छोरीको न्युड फोटोसुट मैले नै गरिदिएकी हुँ ।
किन नि ? यो गलत काम भएन ?कसरी गलत काम भयो ? मैले चोर्न, ढाँट्न वा मार्न सिकाएकी होइन । अरूको हत्या गर्नु पो गलत काम हो । आफ्नो स्वेच्छाले कसैलाई हानि–नगरी गरेको काम कसरी गलत हुन्छ ?
तर, नेपाली समाजले त यस्तो पचाउँदैन नि ?
हाम्रो समाजको कुरा नगर्नुहोस्, दुनियाँले के भन्छ भन्ने कुरामा मेरो चासो छैन ।
के छोरीलाई पोर्नस्टार नै बनाउने हो त ?
शतप्रतिशत, यसमा कुनै शंका नगरे हुन्छ । म मेरी छोरीको इच्छा जसरी पनि पूरा गरेरै छाड्छु ।
किन यस्तो निर्णय लिनुभएको ?
उसले जीवनभर विवाह गर्दिनँ भनेकी छे । उसको रुचि पोर्नस्टार बन्ने छ । मेरो आँखाले हेर्दा यो नराम्रो कामजस्तो पनि लागेन । त्यसैले मैले उसलाई स्वीकृति दिएँ ।
उनको नग्न तस्बिर तपाईंले नै खिच्नुभएको हो ?
हो, मैले नै घरमा फोटोसुट गरिदिएकी हुँ । यसअघि पनि म उसलाई सर्ट ड्रेसमा हिँडाउँथे ।
अर्चनाले तपाईंको करकापमा त यो सबै काम गरेकी होइनन् ?
मेरो करकापले कसरी ऊ त्यस्तो काम गर्न तयार हुन्छे ? यो उसको आफ्नै रहर हो । उसमा सनी लियोनीजस्तै बन्ने सपना छ ।
छोरीको निर्णयप्रति तपाईंलाई कुनै अफसोच छैन ?
बिलकुल छैन । पहिले स्कुलमा हुँदा पनि मैले उसलाई सर्ट ड्रेसमा नाच्न पठाएकी थिएँ । उसले स्कुलमा सर्ट ड्रेसमा डान्स गरेको देखेर कतिपयले नराम्रो माने । छोरी नाइन क्लासमा भएकै बेला प्रिन्सिपलले घर जाऊ भनेर पठाइदिए । मैले प्रिन्सिपललाई भने, मेरी छोरीको पढाइमा डिस्टर्ब नगर्नुहोस् ।
तर, अहिले त उनले पढ्न पनि पाएकी छैनन् नि ?
स्कुलका केही स्टाफले यस्तो काम गरिरहेका छन् र उनीहरूकै दबाबमा मेरी छोरीलाई रेस्टिकेट गरियो । मेरी छोरीले पढ्न पाइनन् । उसमा धेरै पढ्ने रहर थियो । एसएलसी दिएर फेसन डिजाइनिङ र एयरहोस्टेजको कोर्स गर्ने चाहना थियो ।
छोरीको नग्न तस्बिर इन्टरनेटमा भाइरल भएको छ, यसले तपाईंलाई केही असर गरेको छैन ?
यसमा जे–जस्तो च्यालेन्ज आउनुपर्ने हो, म त्यो सहन तयार छु । त्यसैले मलाई यस्ता कुराले खासै असर गर्दैन ।
यसले समाजमा उच्छृंखलता ल्याउँछ भन्नेहरू थुप्रै छन् नि ?
हाम्रो समाज कस्तो छ भन्ने कुरा सबैलाई थाहा छ । यदि कसैलाई उसको नेकेड तस्बिरले असर गर्छ भने त्यही कुरा किन हेर्नुपर्‍यो ?
यसमा तपार्इंको परिवारको त विरोध होला नि ?
मेरा दुई सन्तान र मबाहेक मेरा कुनै परिवार, आफन्त छैनन् । यी दुई सन्तानलाई म छुट्टै आश्रम बनाएर भए पनि हुर्काउँछु ।
--------------------------------------------------------------
उनलाई तिरस्कार गर्नु हुँदैन - करूणा कुँवर, मनोविज्ञ
मैले पनि फेसबुकमार्फत त्यो तस्बिर हेरें र केही स्टोरी पनि पढें । एउटी किशोरीले पोर्नस्टार बन्न चाहन्छु भनिछन् र त्यसमा उनकी आमाको पनि समर्थन रहेछ । नेपाली सिनारियोमा यो निकै अनौठो लाग्ने कुरा हो ।कतिपय मानिसको मनोविज्ञान के हुन्छ भने अरूभन्दा नितान्त भिन्न बन्ने, बिल्कुलै फरक खालको पर्सनालिटी बनाएर फेमस हुने । यसलाई हिस्ट्रेनिक पर्सनालिटी भनिन्छ । यही मनोविज्ञानले नै अर्चनालाई पोर्नस्टार बन्न प्रेरित गरेको हुनसक्छ । त्यस्तै, कच्चा उमेरमा हामीले कसै न कसैलाई रोल मोडल बनाएका हुन्छौं । त्यहीअनुसार लक्ष्य तय गरिन्छ । सम्भवत: उनकी रोल मोडल सन्नी लियोनी हुन् । उनको जुन इच्छा छ, त्यो नेपाली सिचुएसनमा इन्ट्रेस्टिङ छ ।यद्यपि यस्तो कुरालाई हाम्रो समाजले सजिलै पचाउन सक्दैन । यो कुरालाई उनले वा उनको परिवारले कसरी हेरेको छ, स्पष्ट हुनुपर्छ । यदि ती किशोरी साँच्चै पोर्नस्टार बन्न चाहन्छिन् भने त्यो एक किसिमको रिभुलेसन पनि हो । कुनै बेला ट्रान्सजेन्डरका इस्युहरू पनि नेपालमा यसैगरी उठ्थे, जसले अहिले कानुनी समर्थन पाइसकेको छ ।
कतिपय अवस्थामा के हुन्छ भने, आमा वा बुबाले आफूले पूरा गर्न नसकेका इच्छा छोराछोरीमाथि लाद्छन् । मानौं, उनकी आमालाई नर्तकी वा कलाकार बन्ने इच्छा थियो । त्यो पूरा नभएपछि उनले छोरीमार्फत आफ्नो इच्छा पूरा गराउन चाहेको हुनसक्छ । यदि त्यसो हो भने यसले राम्रो नतिजा दिँदैन, किनभने अर्चना अहिले नाबालिक नै छिन् ।
अर्को कुरा, यदि छोरीलाई पोर्नस्टार नै बनाउने हो भने त्यसका लागि नेपालको विद्यमान कानुनले के भन्छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ । यसका लागि सम्भवत उनको उमेर पुगेको छैन । यदि यी सबै कुरा नजानेरै गरिएको हो भने उत्तरदायी समाजले उनलाई सही बाटो देखाउनुपर्छ । विडम्बना त के छ भने सही मार्गदर्शन दिने शैक्षिक संस्थाबाटै ती किशोरी निष्कासित भएकी छिन् । अरूलाई शिक्षा दिने संस्थाले यस्तो व्यवहार गर्न सुहाउँछ ? यसरी विद्यालय, शिक्षक, साथीहरू तथा समाज सबैले तिरस्कार गर्दै जाने हो भने ती किशोरी कसरी बाँच्न सक्छिन् ?
अहिले फेसबुक तथा अनलाइन न्युजहरूमा पनि उनको फोटो भाइरल भएको छ र अनेकौं किसिमका टीकाटिप्पणी गरिएको छ । यो एक हिसाबले ‘साइवर वुलिङ’ हो, जसको पीडा ती किशोरीले भोगिरहेकी छिन् । भर्खरै मात्र मैले युट्युबमा मोनिका लेविन्सिकीको भिडियो हेरेकी थिएँ । त्यसमा उनले सन् १९९८ मा आफू कसरी साइवर वुलिङको सिकार भएँ र आत्महत्या गर्नेसम्मको सोच बनाएँ भन्ने कुरा उल्लेख गरेकी छिन् । अहिले ती किशोरीविरुद्ध कतिले ब्ल्याकमेलिङ गरिरहेका होलान्, कतिले नानाथरी गाली गरिरहेका होलान् । यसरी कसैलाई मानसिक रूपले प्रताडित गर्नु अझ ठूलो ‘मानवीय नग्नता’ होइन ?
---------------------------------------------------------------------------------
यो मुद्दामा कानुन मौन छ - ज्योति पौडेल, अधिवक्ता
यो एकदमै नयाँ इस्यु हो, जसलाई हाम्रो कानुनले पनि स्पष्ट रूपमा सम्बोधन गरेको छैन । विद्युतीय कारोबार ऐनले पनि यसलाई नियन्त्रण गर्ने खासै ठाउँ छैन । स्वेच्छाले आफ्नो फोटो राख्नुलाई कुनै अपराध मानिएको छैन । किनभने यो उनको व्यक्तिगत स्वतन्त्रताको विषय हो, जसलाई कानुनले मौलिक हकका रूपमा सुरक्षित गरेको छ । यदि कसैको कामले समाजलाई असर गर्छ भने त्यसलाई सार्वजनिक मुद्दा लगाउन सकिन्छ । ‘शान्ति सुरक्षामा खलल पुर्‍याएको’ मुद्दा लगाएर पक्राउ गर्न सकिन्छ । अनि २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ ।कानुनले नछोएका यस्ता विषयमा समाजले निर्णयक भूमिका निर्वाह गर्न सक्छ । यदि समाजले पोर्नस्टार बन्ने इच्छालाई स्वीकार गर्छ भने त्यसले कानुनी मान्यता पाउनुपर्छ । होइन भने यो अपराध ठहर्छ ।
महत्वपूर्ण कुरा त के भने ‘पोर्नस्टार बन्छु’ भन्दै हिँड्दा अर्चना स्वयं असुरक्षित हुनेछिन् । आमाबुबाले सधैं प्रोटेक्ट त गर्न सक्दैनन् । सामान्य महिलालाई त घरबाट बाहिर हिँड्न गाह्रो हुने हाम्रो परिवेशमा खुल्लमखुला पोर्नस्टार बन्छु भन्दै हिँड्ने किशोरीप्रति कस्तो व्यवहार हुन्छ ? मननीय प्रश्न हो । यसले एकातिर उनको पढाइ र करियर प्रभावित हुन सक्छ भने, भोलि समाजमा प्रतिष्ठित जीवनयापन गर्ने कुरामा पनि वाधा पुग्न सक्छ । भारतमा सनी लियोनीजस्तो स्टारलाई टिक्न कति गाह्रो छ ? हरेक विषयमा उसलाई उडाइएको छ, बदनाम गरिएको छ ।
--------------------------------------------------------------------------------------------
ह्यारेसमेन्ट होइन काउन्सिलिङ - मेनुका थापा, अधिकारकर्मी
पोर्नस्टार बन्छु भन्नु उनको वैयक्तिक स्वतन्त्रता हुनसक्छ । यद्यपि यसलाई समाज एवं कानुनले कसरी लिन्छन् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । बेचबिखन, बलात्कारजस्ता विषयमा त्यति स्ट्रंग कानुन नभएको हाम्रो मुलुकमा पोर्नस्टार बन्न पाउने/नपाउने सम्बन्धमा पनि स्पष्ट व्याख्या नभएको हुनसक्छ । त्यसैले यो कुराको निर्णायक भनेको समाज नै हो । यदि समाजले स्वीकार गर्छ भने त्यसका विरुद्ध कोही जान सक्दैन अनि त्यहीअनुसार कानुनको दायरा पनि फराकिलो बनाउँदै लानुपर्छ ।
यद्यपि यो एउटा व्यक्ति मात्र होइन, समाजसँग जोडिएको विषय हो । त्यसैले यसमा केवल एउटा व्यक्तिको इच्छा वा चाहना मात्र सर्वोपरि हुँदैन । त्यसमा सामाजिक उपस्थिति र समर्थन पनि हुनुपर्छ ।
अर्चनालाई प्रहरीले पक्राउ गरेको कुरा पनि सुनिएको थियो । प्रहरी र अर्चनाबीच के–कस्ता कुरा भए, त्यो मलाई थाहा छैन । यद्यपि प्रहरीले उनलाई पक्राउ गर्ने हो भने त्यो पनि कानुनसम्मत हुनुपर्छ, किनभने प्रहरी पनि कानुनभन्दा माथि छैन । अर्को कुरा प्रहरीले उनलाई डर, धम्की, त्रास देखाउन मिल्दैन । त्यसो गर्नु भनेको उनलाई ह्यारेसमेन्ट गर्नु हो, जो आफैंमा कानुनसम्मत हुँदैन । बरु उनलाई अहिले आवश्यक परामर्श दिनुपर्छ ।
अर्चनालाई विद्यालयबाट निकालिएको विषय पनि सह्य छैन । पढ्न पाउने त उनको नैसर्गिक अधिकार नै हो । उनलाई पढाइबाट वञ्चित गराउने छुट कसैलाई छैन । त्यसैले अर्चनालाई निष्कासन गर्ने विद्यालय प्रशासनविरुद्ध कारबाही हुनुपर्छ ।
----------------------------------------------------------
अब गल्ती दोहोर्‍याउँदिन भनेकी छे- 
डम्मकला कार्की,  प्रहरी नायव निरीक्षक
अर्चना पनेरुको विषयलाई लिएर ‘हाम्रा छोराछोरीलाई असर पर्‍यो’ भन्ने बेहोराको उजुरी परेको थियो । त्यही उजुरीका आधारमा हामीले अर्चना र उनकी आमा सुनिता पनेरुलाई पक्राउ गरी सोधपुछ गर्‍र्यौं ।
अर्चना त नाबालिक नै छिन् । उनको उमेर अरूको लहडमा लाग्ने खालको छ । खासमा समस्या भनेकी आमा हुन् । यो काम गलत हो, हाम्रो रीतिरिवाज, संस्कारले यसलाई अनैतिक मान्छ । तपाईंले गलत काम गरिरहनुभएको छ भनेर हामीले धेरै सम्झायौं । यसले समाजमा विच्छृंखलता ल्याउँछ, अरू थुप्रैका छोराछोरीले गलत बाटो समाउँछन्, समाज र राष्ट्रको बदनामी हुन्छ त्यसैले यस्तो काम नगर्नुहोस् भन्यौ, तर उनकी आमाले छोरीलाई पोर्नस्टार बनाएरै छाड्ने, सुपरहिट बनाएरै छाड्ने भनिन् । यो मेरो इच्छा हो भन्दै रोइकराइ गरिन् । हामीले भन्यौ– ‘यसले तपाईंकी छोरीको भविष्य नै संकटमा पर्छ ।
के तपाईं आफ्नी छोरीलाई सुरक्षा प्रदान गर्न सक्नुहुन्छ ?’ भन्दा जवाफमा उनले पुरानै ढिपी दोहोर्‍याइन् अनि हाम्रा एक जना स्टाफले भने– ‘यदि छोरीलाई पोर्नस्टार बनाउन मन छ भने तपाईं आफैं बन्नुहोसन् किन छोरीलाई बनाउन चाहनुहुन्छ ?’ त्यसको जवाफमा उनले आफू संकीर्ण परिवारमा जन्मिएकाले त्यो रहर पूरा गर्न नपाएको बताइन् ।
त्यसपछि हामीले उनलाई साइवर क्राइमसम्बन्धी व्यवस्थाको जानकारी दिँदै यस्तो आपराधिक गतिविधि नगर्न भन्यौं, तर उनले कति गर्दा पनि आफ्नो गल्ती महसुस गरिनन् ।
अन्त्यमा हामीले ‘यसलाई थुनेर छोरीलाई बाबुको जिम्मामा पठाइदिने’ भन्यौ । त्यसपछि उनी ‘घरमा मेरो छोरो छ’ भन्दै रोइकराइ गर्न थालिन् । धेरै प्रयासपछि मात्र उनले आफ्नो गल्ती स्वीकार गर्दै ‘अबदेखि यस्तो काम गर्दिनँ’ भनेपछि कागज गराएर छाडिदियौं ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger