Headlines News :
Home » » दिल्लीको 'सकारात्मक संकेत’ ।

दिल्लीको 'सकारात्मक संकेत’ ।

Written By kantipur on Saturday, October 3, 2015 | 12:44 AM

आश्विन १६, २०७२- द्विदेशीय सीमाक्षेत्रमा बढेको असुरक्षा र आन्दोलनलाई कारण देखाउँदै भारतले एक सातायता गरेको नाकाबन्दी खुलाउन भारत सरकारले शनिबार निर्देशन दिने संकेत आएको छ ।
काठमाडौंमा राजनीतिक परामर्श गरेर शुक्रबार बिहान दिल्ली फर्किएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग दिउँसो भेटवार्ता गरेका थिए । सुरक्षा सल्लाहकारबाट द्विदेशीय सम्बन्धको सहजीकरणमा ‘आवश्यक उपाय’ अवलम्बन गर्न लागिएको सकारात्मक संकेत पाएका राजदूत उपाध्यायले ‘यसबारे छिट्टै नतिजा देख्न सकिने’ प्रतिक्रिया दिए । बिहीबार र शुक्रबार अपराहन प्रधानमन्त्री कार्यालयमा भएको विशेष परामर्श बैठकमा पनि विभिन्न कारणले ठप्प भएको ढुवानी/पारवहनको स्थितिबारे प्रधानमन्त्रीको तहबाट चासो राखिएको कूटनीतिक स्रोतले जनाएको छ ।
आफ्नै व्यवसायका क्रममा दिल्ली उत्रिएका उद्योगी विनोद चौधरीले पनि शुक्रबार प्रधानमन्त्री कार्यालयसहितको निकायमा उच्चस्तरीय भेट/परामर्श गरेका थिए । ‘नाकाबन्दीसँग जोडिएको विषय र नेपालको राजनीतिक विकासक्रममा देखिएको दिल्लीसँगको असमझदारी पनि धेरै हदमा टुंगिएको मैले पाएँ, त्यसमाथि मधेसी/थारू समुदायका मागलाई लिएर नेपालको संविधानमा हुन लागेको संशोधनको प्रक्रियाबाट पनि आपसी समझदारी थप बढेर गएको छ,’ उद्यमी चौधरीले कान्तिपुरसँग भने । उद्यमी चौधरीले पनि १/२ दिनभित्रैमा भारतबाट सहज पारवहन/ढुवानीका काम सुरु हुने संकेत आफूले पाएको जानकारी दिए ।
 
विदेश मन्त्रालयस्थित एक अधिकारीका अनुसार नेपाल–भारतका मुख्य नाकाहरूमा देखिएको बाधा/अवरोध हटाउन दुवैतर्फका निकाय तथा नेपालका सरोकारवाला राजनीतिक दललाई शनिबारभित्र जानकारी पठाइने भएको छ । ‘यो नाकाबन्दी होइन, दुईतर्फी रूपमा बढेको असमझदारीले निम्त्याएको असहज परिणाम हो,’ ती अधिकारीले भने ।
मधेसी मोर्चासम्बद्ध नेता महन्थ ठाकुरले संविधान संशोधनसहितको प्रक्रियाले मधेसी आन्दोलनलाई सहमतितर्फबाट लैजान बाटो खोलेको उल्लेख गर्दै नाकाबन्दीको स्थिति खुलिहाल्ने अथवा यसबारेमा सकारात्मक ‘संकेत’ आफूले कतैबाट पाइनसकेको कान्तिपुरलाई टेलिफोनमा बताए ।
विदेश मन्त्रालयकै सरोकारमा जोडिएर भारतीय जनता पार्टी (बीजेपी) ले नेपालमा भारतले नाकाबन्दी गरेको भन्ने समाचारलाई ‘झूटा, सतही र अपव्याख्या’ गरिएको सूचना भनेको छ । बीजेपीले नेपालमा बढदो भारतविरोधी गतिविधिसँगै भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका काम भएकोमा असन्तुष्टि जनाउँदै शुक्रबार विज्ञप्ति पनि जारी गरेको थियो ।
बीजेपीका अर्का वरिष्ठ नेता भगतसिंह कोसियारीले भारत सीमावर्ती मधेस क्षेत्रमा भडकिएको अशान्ति र मधेसी समुदायको धर्ना/जुलुसका कारण भारतबाट सामान निर्यात हुन नसकेको दाबी गरेका छन् । ‘तर जहाँ जुन नाकामा धर्ना/जुलुस छैन, त्यहाँबाट समेत सामान निर्यात हुन नसकेकोबारे मलाई जानकारी थिएन,’ उनले कान्तिपुरसँग भने, ‘म आजै पार्टीको उच्च तहमा कुराकानी गर्छु ।’
आफ्ना पार्टी अध्यक्ष अमित शाहले पनि ‘मधेसको मुद्दालाई भारतले त्यतिसम्म लिन्छ, जतिसम्म जस्टिफाइ हुन्छ’ भनेर स्पष्ट धारणा राख्दै आएको बताउँदै कोसियारीले ‘भाजपा र भारत सिंगो नेपालका पक्षमा रहेको तथा मधेस मात्रै भनेर कहिल्यै नहिँडेको’ दाबी गरे ।
नेता कोसियारीले नेपालको संविधान उपलब्धि उसको आफ्नै आन्तरिक मामिला भए पनि यो दस्तावेजमा मधेसी/थारू/दलित लगायतको ठूलो समुदायले अपनत्व जनाउन नसकिरहेकोमा भारतले ‘अधिकतम सहमति’ को चासो अघि सारेको बताए । ‘हाम्रो पूर्वोत्तर भारतका नागाल्यान्ड वा कश्मीर राज्यमा कायम रहेको अशान्तिको उदाहरण दिएर मात्रै नेपाल आफ्नो समस्याबाट उम्कन सक्दैन, यसरी समस्याको तुलना गरेर पनि हुँदैन । बरु नेपालले असन्तुष्टि र असहमतिलाई बेलैमा सम्बोधन गर्न सिकोस्, हामीबाट पाठ सिकोस् भनेर अधिकतम सहमतिको कुरा अघि सारिएको हो,’ कोसियारीले भने, ‘भारत नेपालसँग रिसाएको (नाराज) छैन, बरु दु:खी भएको छ । असमझदारीपूर्वक अगाडि बढेको राजनीतिक विकास क्रमका कारण यो स्थिति आएको हो ।’
नेता कोसियारीले ‘आजको ग्लोबल दुनियाँमा सिरियामा भएको घटनाका कारण भारतदेखि अमेरिकासम्मले आ–आफ्नै धारणा बनाइरहेका हुन्छन्’ भन्दै नेपालमा आएको परिवर्तन र संविधानको कुरामा निकटको छिमेकी र खुला सिमाना रहेको भारतलाई सरोकार रहनु स्वाभाविक रहेको बताए । ‘भारतबाट पाठ सिक भनेको हो । यो आग्रह हो, निर्देश होइन । हामी अन्तरसम्बन्धित छौं, यही कारण सुझाव दिन चाहेका हौं,’ उनले भने, ‘मधेस क्षेत्रको ‘डिमान्ड’ सुनिदेऊ भन्ने मात्रै हाम्रो सरोकार हो, यो हाम्रो असन्तुष्टि होइन । हाम्रा राजदूत, विदेश सचिव, विदेश मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले यही सरोकारमा जोडिएर अधिकतम सहमति भनिरहेका हुन् ।’
अघोषित चरणमा अघि बढेको नाकाबन्दीका कारण नेपाली सामाजिक/आर्थिक तहमा चर्को कठिनाइ उब्जिएपछि चिनियाँ नाकाहरू खुलाउनका लागि नेपाल सरकारले पहल गरेपछि स्थिति सहजीकरणमा दिल्लीलाई ‘तातो लागेको’ एक जानकारले बताए । ‘दिल्लीमा अरूभन्दा बढी चीन–फ्याक्टरले काम गर्छ,’ नेपाल मामिलाका सुरक्षा जानकारले बताए, ‘चीनबाट नेपालले पेट्रोल ल्याउने तथा तातोपानी र रसुवागढी नाका खुलाउन हरसम्भव प्रयत्न गर्नेजस्ता समाचार आएपछि बिहीबारदेखि दिल्लीस्थित गृह मन्त्रालयले नाकाबन्दीको वस्तुस्थिति पहिल्याउन सीमावर्ती नाकाका सम्बद्ध निकायहरूसँग परामर्श थालेको थियो, त्यसैको परिणामस्वरूप सकारात्मक परिणाम आउन लागेको हो ।’
डीएनए समाचार एजेन्सीका अनुसार शुक्रबारै दिल्लीबाट गृहमन्त्री राजनाथ सिंहले काठमाडौंमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर आन्दोलनरत मधेसी समुदायसँग परिणाममुखी वार्ता अघि बढाउन आग्रह गरेका थिए । गृहमन्त्री सिंहले मधेसी दलसम्बद्ध नेताहरूलाई नेपाल सरकारको वार्ता आहवानअनुसार आवश्यक सहयोग गर्न आग्रह गरेको समाचारमा उल्लेख छ । बिहार राज्य सभाको चुनावी दौडमा प्रमुख प्रचारक भएर शुक्रबारदेखि चुनावी सभाहरूमा सहभागी हुन थालेका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको स्थिति अध्ययन र सहजीकरणका लागि गृहमन्त्री सिंहलाई निर्देशन दिएको स्रोतले जानकारी दियो ।  
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger